काठमाडौं । पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा र उनका समर्थकहरुले भब्य स्वागत शहित निर्मल निवास भित्र्याएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले पूर्व राजा शाहलाई विमान स्थलमा स्वागत गरेका थिए ।
पूर्वराजाको स्वागत गर्नेहरुले हातमा राष्ट्रिय झण्डा बोकेका थिए । विमानस्थलबाट महाराजगञ्ज स्थित निर्मल निवास पुग्न पूर्व राजालाई ३ घण्टा भन्दा बढी समय लागेको थियो । राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको स्वागत कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो ।
विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो । पोखरा केन्द्रित भई आसपासका क्षेत्रको एकहप्ता लामो धार्मिक भ्रमणमा निस्किएका पूर्वराजा शाह आज पोखराबाट काठमाडौं आएका हुन् ।