काठमाडौं । आज आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग गरेका छन ।
प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग गरीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको र्यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग भएकोबारे चासो समेत राखेका छन ।
छुट्टाछुट्टै मोटरसाइकलमा बोकिएको योगी र पूर्वराजा ज्ञानेन्द्रको तस्बिर राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रवादी महोदयहरुकाले र्यालीमा प्रयोग गरेका यी २ फोटाहरू….’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यस विषयमा अनभिज्ञता देखाए ।
उनले भने, ‘कसले प्रयोग गरे केही थाह छैन ।’ गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए ।