पोखरा । कास्कीको पर्यटकीय स्थल सिक्लेसमा केबलकार सञ्चालनको प्रक्रिया अघि बढेको छ । आईएमई ग्रुपले सञ्चालन गर्न लागेको उक्त केबलकारको कानूनी प्रक्रिया अन्तिम चरणमा पुगेको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले मादी गाउँपालिकाको सिक्लेसमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मादी–१ मा तल्लो र मादी–२ मा दोश्रो स्टेसन रहने गरी ६ अर्ब ९० करोडभन्दा बढी लागतमा ६.१ किलोमिटर लामो केबलकार निर्माण हुनेछ ।
उक्त केबलकारको बीचमा समेत झर्न र चढ्ने मिल्ने गरी स्टेशन निर्माण गरिने छ । हालसम्म नेपालमा भएका कुनै पनि केबलकारमा यो सुविधा छैन । कम्पनीले उक्त केबलकारमा प्रतिदिन ६ हजार जनाले यात्रा गर्न सक्ने जनाएको छ ।
सिक्लेसमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औं वार्षिकोत्सव समारोहमा बिहीबार बोल्दै अध्यक्ष ढकालले आर्थिक विकासका लागि पर्यटनको विकास महत्वपूर्ण हुने बताए ।
नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै उनले पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने विश्वास व्यक्त गरे ।
सिक्लेसमा नयाँ केवलकार निर्माणको चरणमा रहेको र केवलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने उनले बताए । ‘सिक्लेस एउटा आर्कषक पर्यटकीय गन्व्यका रुपमा देश तथा विदेशमा प्रख्यात नै छ । केवलकार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ’ उनले भने, ‘केवलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवद्र्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ ।’
सिक्लेसदेखि कोरी डाँडासम्म निर्माण हुने नयाँ केवुलकारका लागि प्रक्रियागत काम सकिइसकेको जानकारी दिँदै उनले केवलकार निर्माणले सो क्षेत्रको सााजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।
यस्तै उनले पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लवले निर्वाह गरेको भूमिकाको सराहना गरे ।