काठमाडौं । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १५.०७ प्रतिशतले बढेका हुन् ।
गत आर्थिक वर्षको सो अवधिमा चार ६२ हजार ४६९ जनाले श्रम स्वीकृति लिएकोमा चालु आर्थिक वर्षको यस अवधिमा पाँच लाख ४४ हजार ४ सय ७० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ८२ हजार ७१ जनाले बढी हो ।
विभागका अनुसार चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै मङ्सिर र माघमा श्रम स्वीकृति जारी भएको छ । चालु आर्थिक वर्षको मङ्सिरमा सबैभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
मङ्सिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४ सय २५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । विभागका अनुसार माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार यस वैदेशिक रोजगारीका लागि पाँच लाख ४४ हजार ५७० जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि मात्रै एक लाख ७३ हजार ३४१ जनाले श्रम स्वीकृति लिएका हुन् । आर्थिक वर्ष २०८०/८१ मा दोस्रो र आर्थिक वर्ष २०७९/८० मा पहिलो श्रम गन्तव्य देश मलेसिया यस पटक पाँचौँमा छ ।
मलेसियाका लागि भने चालु आर्थिक वर्षको यस अवधिमा १८ हजार ८९४ जनाले श्रम स्वीकृति लिएका छन् । चौथो कुवेतका लागि यस अवधिमा साढे २३ हजारले श्रम स्वीकृति लिएका छन् । यस अवधिमा रोजगार अनुमति प्रणाली इपिएस मार्फत सात हजार ७ सय १० जना दक्षिण कोरिया गएका छन् ।