बेङ्गलुरु (भारत)। भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भाट दुई तरिकाले दुर्लभ छिन् । पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा ।
भाट एउटा यस्तो देशमा पुरुष–प्रभुत्व भएको उद्योगमा आफ्नो दाबी गरिरहेकी छन् जहाँ सामाजिक परम्पराहरूले धेरैजसो महिलालाई मदिरापान नगर्न बाध्य पार्छन् ।
अड्तीस वर्षीया भाटले धेरै वर्षसम्म पुरुष साथीहरूको व्यङ्ग्य सहेकी थिइन्। तिनीहरूले उनीसँग विशेष स्वादको परख गर्ने मांसपेशी छ कि छैन वा कामको दबाब सम्हाल्न पर्याप्त शान्त हुनुहन्छ कि हुनुहुन्न भन्ने प्रश्न गर्दथे ।
तर उद्योगमा एक दशकपछि उनी बेङ्गलुरुको सबैभन्दा लोकप्रिय पबहरू मध्ये एकमा हेड ब्रुअर बन्न पुगेकी छन् र सहरको धनी युवा प्रविधि कामदारहरूको सेवा गरेकी छन् ।
“एक महिलाले गर्न नसक्ने केही पनि छैन जुन एक पुरुषले गर्न सक्छ…रेसिपी विकासदेखि, शारीरिक कामसम्म, टोली व्यवस्थापनसम्म”, भाटले भनिन्, “हामीले अगाडि आउन र हामी यो गर्न सक्छौँ भनेर भन्नका लागि यो कदम चालेका छौँ, एउटा कलङ्क थियो… हामी ती रूढीवादी र बाधाहरू तोड्दैछौँ ।”
सरकारी तथ्याङ्कअनुसार ९९ प्रतिशत महिलाले मदिरापान नगर्ने भारतको बाँकी भागभन्दा उदार मदिरा संस्कृतिका लागि बेङ्गलुरु लामो समयदेखि प्रसिद्ध छ ।
यसको प्रख्यात प्रविधि उद्योगले प्राय: सहरमा स्थापित सामाजिक सम्बन्धहरू नभई कुलीन विश्वविद्यालयहरूबाट आउने युवा र उच्च शिक्षित कार्यबललाई रोजगारी दिन्छ ।
यसले बेङ्गलुरुको फस्टाउँदो क्राफ्ट बियर बारहरूमा जोडदार व्यापार प्रदान गर्दछ । बेङ्गलुरुमा घरभित्रै ब्रुअरी छन् जसले सयौँ कामदारलाई रोजगारी दिन्छन् र नयाँ मानिसहरूसँग भेट्न उत्सुक र पैसा खर्च गर्न तयार ग्राहकहरू छन् ।
आधिकारिक तथ्याङ्कअनुसार काम गर्ने उमेरका महिलामध्ये २५ प्रतिशत मात्र औपचारिक रूपमा रोजगारीमा रहेको भारतमा सहरको कार्यबल एउटा अनौठो उदाहरण हो ।