>

सिरहा बलात्कार घटना, एसएसपीको नेतृत्वमा छानबिन

जनकपुर । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

मधेश प्रहरी कार्यालय जनकपुरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ । समितिले मंगलबारबाट नै अनुसन्धानसमेत थालिसकेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘सदायको घटनाबारे सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको छ,’ मधेश प्रदेश प्रहरी कार्यालयले भनेको छ, ‘घटनाको थप अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।’

गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलस्थित बिगुल सदायकी छोरी रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन् । रातको समयमा शौच गर्न घर बाहिर निस्कँदा उनी सामुहिक बलात्कारको शिकार भएकी आशंका छ । घटनालाई पञ्चायती बसेर ढाकछोप गर्ने प्रयास गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *