>

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्ताको प्रतीक्षा

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ ।

सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त भएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मोबाइलमा समाचार हेर्दै विपिनको सुखद् खबरको आशामा दिन बित्न थालेका छन् । छोराको अवस्थाबारे बेखबर विपिनका बुबाआमाले भीमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गरिरहेका छन् । जोशी परिवार विपिनको सकुशल घर फिर्तीको पर्खाइमा छ ।

“छोरा आउने आशामा १५ महिना बितिसके, मेरो छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार ?” विपिनका आमा पद्माले भनिन्, “मेरो छोरालाई सकुशल घर ल्याउन सरकारले पहल गरिदेओस् ।”

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

जोशी परिवारले छोराको रिहाइका लागि सरकारसँग अनुनय गरिरहेको छ । छोराको रिहाइका लागि मन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री, राजदूत सबैलाई भेटेर विपिनको रिहाइका लागि अनुनय गरिसकेका छन् ।

हमासले ३४ जना बन्दी छोड्ने खबरले आमाबुबाको मलिन अनुहारमा थोरै भए पनि खुसीका रेखा देखापरे । तर जब त्यो लिष्टमा छोरा विपिनको नाम छैन भन्ने समाचार आयो अनुहार निन्याउरा भए । “अहिलेसम्म अन्य देशका नागरिक धेरै छुटिसके”, आमा पद्माले भनिन, “अब छुट्ला अब छुट्ला भन्दाभन्दै आशामै डेढ वर्ष बितिसके ।”

हमास समूहले इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम, किबुजबाट नियन्त्रणमा लिएको इजरायल सरकारले जानकारी गराएको थियो । त्यसयता विपिनको अवस्था अज्ञात छ । अध्ययनसँगै कमाइ गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयमा ३९ विद्यार्थी इजरायल गएका थिए ।

त्यहाँ पुगेको एक महिनामै हमास समूहले आक्रमण गरेको थियो । हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । “अरू देशका नागरिक बेलाबेला छुटिरहेका छन्, हाम्रो सरकारको पहल पुगेन कि ?”, विपिनका बुबा महानन्दले भने, “मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म सबैलाई भेटेर छोराको रिहाइका लागि अनुनय गरिसक्यौँ ।” उनले सबैबाट पहल गरिरहेका छौँ बाहेकको जवाफ नसकेको बताए ।

केही दिनअघि इजरायल र हमासबीच युद्धविराम हुने खबर आएपछि विपिनको परिवार उनको रिहा हुने आशामा थियो । तर हमासले रिहा गर्ने ३४ जनाको लिष्टमा विपिनमा नाम समावेश नभएको खबर पाएपछि परिवार विरक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *