कैलाली । नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताएका छन् । हमासको आतङ्कवादी समूहको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये ८ जना सुदूरपश्चिमका थिए भने एक जना विपिन जोशी भने अहिले पनि सम्पर्कविहीन अवस्था छ।
नेपालका लागि इजरायली राजदूत बासले हमास घटनामा मारिएका सुदूरपश्चिम प्रदेशका ८ परिवारलाई भेटेर सहानुभूति दिन यहाँ आएको बताए । आतङ्ककारीको आक्रमणमा मारिएका विद्यार्थी डोटीका पदम थापा, राजन फुलारा, दार्चुलाका लोकेन्द्रसिंह धामी, कञ्चनपुरका दिपेश विष्ट र अपहरणमा परेका कञ्चनपुरकै विपिन जोशीको घरमा पुगेर उनले दुःख व्यक्त गरेका छन्।
दूतावासका अनुसार इजरायली सरकारले मारिएका नेपाली विद्यार्थीका परिवारका लागि इजरायली नागरिकका परिवारले आर्थिक सहयोग उपलब्ध गराइरहेको छ। इजरायली नागरिकले अहिले पनि विपिन जोशीको तस्बिरसहित सुरक्षित फिर्ताका लागि प्रदर्शन गरिरहेका उनले बताए । इजरायली जनता विपिन जोशीलाई राम्ररी चिनेको भन्दै उनले जोशी फिर्ताका लागि इजरायली सरकारले प्रयत्नरत गरिरहेको उनले बताए ।