वीरगञ्ज । शनिबार हनुमान जयन्तीको शोभायात्राका क्रममा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपपछि वीरगञ्जमा कर्फ्यु जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशमा आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार जारी कर्फ्युका बेला अत्यावश्यक सेवाका सवारीसाधन र व्यक्तिले परिचय खुल्ने कागजातसहित मात्र आवतजावत गर्न पाउने छन् । उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
छप्कैया चोकमा झडप हुँदा केही पसलमा आगजनी र प्रहरीसहित स्थानीय घाइते भएका थिए । अहिले वीरगञ्जको अवस्था तनावग्रस्त छ र ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रशासनले शान्ति सुरक्षामा सहयोग गर्न स्थानीयलाई आग्रह गरेको छ ।