काठमाडौँ । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निकट नेताहरूमार्फत् ४ वटा सन्देश पठाएका छन् ।
सोमबार रुपन्देही जिल्ला अदालतस्थित कारागार पुगेपछि लामिछानेले पठाएको सन्देश उनीनिकट नेताहरूले सार्वजनिक गरेका हुन् । सभापति लामिछानेले सन्देशमा भनेका छन्, ‘अदालतको आदेशको सम्मान छ ।
कानुनले दिएको अधिकार प्रयोग गर्छु, ‘तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।’ उनले न्यायको मन्दिरबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सँगै अघि भनेका छन्, ‘तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन् ।’
उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई पनि आग्रह गरेको पनि उनी निकट नेताहरुले बताएका छन । ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् । उनले आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पालो सबैको आउने बताएका छन् ।
‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ,’ लामिछानेले भनेका छन्, ‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’