काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन । उनले पीडितहरुलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्ने पनि बताएका छन ।
आज (बिहीबार) संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई काठमाण्डूमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको भन्दै द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने पनि बताएका छन ।
द्वन्द्व पीडितहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्याउनुपर्छ भन्नेमा प्रमुख दलहरुबीच विमती नभएको पनि प्रचण्डले बताएका छन । उनले भने, ‘अहिले पनि राजनीतिक दलहरुबीच विवादहरु छन् ।
प्रमुख दलहरु नै पनि कोही सत्तापक्षमा छौं, कोही प्रतिपक्षमा छौं, विवाद चलिरहेको छ, सदनमा बहस भइरहेको छ, थुप्रैथुप्रै कुराहरु छ,’ प्रचण्डले भने, ‘तर तमाम विवाद र विमतीका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै पनि विवादमा भएनौं ।’ संक्रमणकालीन न्याय राष्ट्रिय मुद्दा भएको भन्दै उनले यसमा राजनीति गर्नु नहुने पनि उनले बताएका छन ।
उनले कहिले प्राविधिक, कहिले कानुनी, कहिले राजनीतिक समस्याका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न समय लागेको भन्दै उनले यसलाई पनि नेपालको मौलिक विशेषता अनुसार अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन ।