काठमाडौं । जिउँदो गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो घटनाप्रति पशु अधिकारकर्मी, एनिमल नेपालकी बोर्ड सदस्य तथा गधा अभयारयण्यकी पूर्व कोषाध्यक्ष प्रमोदा शाहले गम्भीर चासो व्यक्त गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मान्छे कतिसम्म अन्धविश्वासी र क्रुर हुँदो रहेछ भन्ने कुरा बाजुरा जिल्ला जगनाथ गाउँपालिकामा भएको घटनाले पुष्टि गर्छ । यस्ता पाखण्डी र हिन्दू धर्मलाई बद्नाम गर्नेहरुलाई कानुनको दायरामा ल्याउन पशु अधिकारकर्मी शाहले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य र वडाध्यक्ष धनबहादुर सार्कीको ध्यानकर्षण गराएकी छन् ।
बाजुरा जिल्ला जगनाथ गाउँपालिका–६ का स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले एउटा कालो रङको गाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । त्यो अबोध प्राणी सकीनसकी किनारमा निस्कने यत्न गर्छन् । यद्यपि त्यहाँ भेला भएका मानिसहरुले गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै कुटेको दर्दनाक दृश्य समेटिएको भिडियो आइतबार सार्वजनिक भएको थियो ।