काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरू नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गरेका छन् ।
शुक्रवार ‘राजेशकाजी श्रेष्ठ: व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरू नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताए ।
उनले अध्यक्ष दाहाललाई त्यति बेला टिकटक किन बन्द गरेको ? भन्दै प्रश्न समेत गरे । उनले विरोध गर्ने पार्टीहरूले नै सामाजिक सञ्जाल सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको बताएका हुन् ।
उनले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको बताए । ७७ वटै जिल्लाका सदरमुकामहरूमा मोटर बाटो पुर्याएको उनले दाबी गरे ।