काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ ।
दुवै जनाको आई.सी.यू.मा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रारम्भिक चेकजाँचका क्रममा ५–६ प्रतिशत जलेको र अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने देखिएकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थमन्त्री पौडेलको पोखरा स्थित गण्डकी मेडिकल कलेज र प्रमुख आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो ।