काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टिकरणको जवाफ बुझाएका छन् । आइतबार घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।
गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई ‘तपाईलाई पदबाट किन नहटाउने’ व्यहोराको नौ बुँदे स्पष्टिकरण सोधेको थियो । मन्त्रालयले घिसिङलाई सात दिनभित्र जवाफ दिन भनेको थियो ।
घिसिङले स्पष्टिकरणको जवाफ दिनुअघि शुक्रबार आफ्ना उपलब्धि विवरण पेस गरेका थिए भने आज जवाफ पेस गरेका हुन् । स्पष्टीकरण चित्त नबुझे घिसिङलाई हटाउनेसम्मको तयारीमा ऊर्जा मन्त्रालय छ ।
स्पष्टिकरणमा कार्यसम्पादन प्रभावकारी नभएको, मन्त्रालयले माग गरेको १५ बुँदे विवरण समयमै उपलब्ध नगराएको, उपलब्ध गराएको विवरण पनि अपुरो र खोजेजस्तो नभएको जिकिर लिँदै जवाफ दिनू भनिएको थियो ।
त्यसैगरी सत्य/तथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ पठाएको अभियोग पनि घिसिङमाथि लगाइएको थियो । सँगै माइन्युटमा ‘नोट अफ डिसेन्ट’ लेखेको, कार्यसम्पादन पुनरवलोकन (रिभ्यू) नगराएको, कार्यसम्पादनमा ५० प्रतिशतकम अंक ल्याएको, असहयोगी भूमिका खेलेको प्रश्न सोधिएको थियो ।