काठमाडौँ। हुम्लाको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया दोषी ठहर भएका छन् । स्वार्थ बाझिने गरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन गाउँपालिका अध्यक्ष रोकायालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय तोक्दै ९ लाख ७५ हजार रुपैयाँ असुल्नुपर्ने र त्यति नै जरिवाना हुनुपर्ने फैसला गरेको हो । परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा उनी दोषी ठहर भएका हुन् ।
विशेष अदालतले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै त्यति नै कैद, असुलउपर र जरिवानाको फैसला गरेको छ ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले मंगलबार ‘गाउँपालिकाको प्रशासकीय अधिकृत रही सम्झौता पत्रमा हस्ताक्षर गरी भुक्तानी दिने काम गरी गाउँपालिकाका अध्यक्ष रोकायाकै सरह कसुर गरेको’ भन्दै शाहीलाई पनि दोषी ठहर गरेको हो ।
भ्रष्टाचारको आरोप लागेका हंश रोकाया, सेतु रोकाया अनि तुलराज रोकायालाई एक वर्ष कैद र ४ लाख ८७ हजार रुपैंया जरिवाना भएको छ । हंश र सेतु उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष थिए भने तुलराजले सचिवको हैसियतमा कागजात मिलाउने काम गरेका थिए ।
गाउँपालिकाको उपाध्यक्ष जोसी धामी, इञ्जिनियर रामराज शाही, लेखापालहरु पूर्ण प्रसाद आचार्य र पदमबहादुर धामीले आरोपबाट सफाई पाएका छन् ।