स्याङ्जा । बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखिएपछि स्याङ्जाका किसान चिन्तित बनेका छन् । विगत २ वर्षदेखि ५०० भन्दा बढि बङ्गुर यही रोगको कारण मरे भने दर्जनौ बङ्गुर पालक किसान विस्थापित भएका थिए । मासुजन्य प्रयोगको लागि बाहिरी जिल्लाबाट असुरक्षित बङ्गुर आयात गर्दा यस्तो समस्या आउने गरेको विज्ञहरुको भनाई छ ।
जिल्लामा थप संक्रमण फैलिन नदिन स्थानीय तहरुले बङ्गुर ओसार पसारमा रोक लगाएका छन् भने भेटेरिनरी अस्पतालले निसंक्रमणको औषधि वितरण गर्न थालेको छ ।
स्याङ्जाको बङ्गुर खोरमा अफ्रिकन स्वाइन फिबरको संक्रमण देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । पुतलीबजार-१० बरजामा संचालीत पार्वती थापाको खोरमा यही रोगको कारण ४ बटा बङ्गुर मरे । दाङबाट ल्याईएको १२ बटा बङ्गुर मध्ये ४ वटा मरेपछि खोरको सबै बङ्गुर संक्रमित भएका छन् ।
एउटा खोरमा यसको भाईरस प्रवेश गरेपछि खोरको सबै बङगुर विस्तारै मर्ने र ती क्षेत्रका अन्य खोर पनि असुरक्षित हुने भएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले निसंक्रमणको औषधी वितरण गर्न थालेको छ । जिल्लामा थप संक्रमण फैलिन नदिन स्थानीय तहरुले बङ्गुर ओसार पसारमा रोक लगाएका छन् ।
यो रोग विरुद्ध खोपको विकास नभएको र औषधी उपचार पनी नभएको कारण बङ्गुर पाल्ने किसानहरु निकै जोखिममा छन् । विगत २ वर्ष यता यही रोगको कारण स्याङ्जामा ५०० भन्दा बढी बङ्गुरको मृत्यु भयो, दर्जनौ बङगुर फर्म संचालन गरेका किसान विस्थापित भए । फलस्वरुप जिल्लामा बङ्गुरको मासु अभाव भयो ।
माग पूर्ति गर्न बाहिरबाट आयात भएका असुरक्षित बगुरले पटक-पटक रोग बोकेर आउँदा किसानहरु निकै मारमा परेका छन् । यस वर्ष पनि गत वर्ष जस्तै ठूला फर्महरु विस्थापित हुने त होईन भन्ने जोखिम बढेको छ । मासुजन्य पशु ओसार पसार गर्ने प्रकृया कागजी मात्र बन्दा बङगुरपालक किसान विस्थापित हुने अवस्थामा पुगेको विज्ञहरुको बुझाई छ ।