काठमाडौं । गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीच भएको भनिएको संवादले सत्ता गठबन्धनमा कुनै समस्या नभएको प्रतिक्रिया दिएका छन ।
आज सोमबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच फेरि वाम गठबन्धन गर्ने संवादले सत्ता गठबन्धनमा कुनै समस्या नहुने बताएका छन् ।
उनले भने, ‘कुन नेताले कहाँ के बोल्छन् त्यो उहाँहरुको व्यक्तिगत र राजनीतिक कुरा हो तर संस्थागत रुपमा कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन, ‘त्यो उहाँहरु दुई जनाबीचको राजनीतिक गफ होला तर त्यसले सरकारलाई कुनै समस्या छैन ।’
गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या नभएको र दुई दलबीचको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म सरकार चल्ने दाबी गरेका छन ।
उनले सरकारले आफ्ना कामलाई गति दिने उद्देश्यले अध्यादेश ल्याएको बताउँदै लेखकले उचित समयमा संसदमा पेश गरेर पास हुने पनि बताएका छन ।