>

वर्षौं जेल बसेर बाहिर आउने बित्तिकै नेताका दरबार कसरी ? बने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले वर्षौं जेल बसेर बाहिर आएको केही समयमै नेताहरुको सहरमा कसरी दरबार बन्यो भन्ने प्रश्न गरेका छन् ।
झाले कुनै आर्थिक पृष्ठभूमि नभएका र व्यवसाय नभएका नेताहरुको जेलबाट बाहिर आउने बित्तिकै कसरी करोडौंको दरबार बन्यो भन्दै प्रश्न गरे ।

निर्दलीय व्यवस्थाबाट बहुदलीय व्यवस्था ल्याउन नेताहरुको योगदान रहेको र त्यसमा आफूहरुको सम्मान भएको भन्दै उनले त्यही नाममा भ्रष्टाचार गर्न छुट हुनुपर्छ भन्नु गलत भएको उल्लेख गरे । ‘हामी आज निर्दलीयबाट बहुदलीयमा अउँदै गर्दा उहाँहरुको योगदान छ । त्यसमा हाम्रो सम्मान छ । तर, एउटा कुरा वर्षौं जेल बसेर बाहिर आउँदै गर्दा एकैचोटी दरबार चाहिं कसरी बन्यो ? व्यवसाय कहाँ गरियो ? व्यवसाय त कुनै पनि थिएन । कुनै पनि आर्थिक श्रोत थिएन’, झाले भने, ‘जेल बसेर बाहिर आउनुभयो । केही महिनामा सबै नेताहरुको दरबार बन्न थाल्यो यहाँ त्यो कसरी भयो ? त्यसको छानबिन गर्नुपर्दैन ? ।’

झाले केही दिनका लागि संसद अधिवेशन रोकेर जेल बसेका तत्तत् नेताहरुको सम्पत्ति छानबिन हुँदैन भन्ने प्रावधानसहित अध्यादेश ल्याउन सुझाए । सरकारले त्यसो गरे रास्वपाले स्वागत गर्ने उनको भनाइ थियो । ‘केही दिनका लागि सदन रोकौं । अर्को अध्यादेश ल्याइदिऔं कृपया । त्यो अध्यादेश के होस् भने अमुकअमुक पार्टीको तत्तत् नेताको सम्पत्ति शुद्धीकरण र छनबनि कहिले पनि हुँदैन । आजीवन हुँदैन । खबरदार त्यसमा कसैले आवाज उठाउन पाउँदैन । किनकी उहाँहरु जेल बस्नुभएको छ । उहाँहरुले यति वर्ष जेल बसे बापत यतियति अर्ब भ्रष्टाचार गर्न पाउनुहुन्छ भनेर निाणय गरिदिनुस् । हामी स्वागत गर्नेछौं त्यो निर्णयको ।’

प्रधानमन्त्री केपी ओलीले पटकपटक सार्वजनिक फोरममा आफ्नो कार्यकालमा भ्रष्टाचार हुँदैन भन्ने गरेको उल्लेख गर्दै झाले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट हेर्न सुझाए । रिपोर्टबाट नेपालको अवस्था थप खस्किएको उल्लेख गर्दै झाले विगतको भन्दा थप खराब अवस्था आएको उल्लेख गरे । प्रतिपक्षलाई अनुशासन सिकाउन भन्दा भ्रष्टाचारमा कसरी खस्कियो भन्ने विषयमा ध्यान दिन सुझाव दिए ।

फरक प्रसंगमा उनले ललितपुरमा बाढीमा फसेर गरिब जनता घरको छतमा घण्टौंसम्म बस्दा उद्धारका लागि भिजिबिलिटी पुगेन भन्ने गृहमन्त्रीले अन्तरजातीय विवाह गरेका जोहीलाई पक्राउ गर्न प्रहरीलाई भारत पठाएकामा आपत्ति जनाए । ‘अस्ती बल्खुमा बाढी जाँदा चार जना छानामा बसेर बग्ने बेलामा भिजिबिलिटी नपुगेको गृह प्रशासनको शैलेन्द्र चमार र नेहा रौनियारलाई समात्न भिजिबिलीटी मुम्बईसम्म पुगेछ । के उहाँहरु हत्यारा हो ? अपराधी हो ? मुम्बईसम्म प्रहरीलाई पक्राउ गर्न पठाउने भिजिबिलीटी पुग्छ त्यहाँ । यहाँ चार जना गरिबहरु छानामा बगिराख्दा भिजिबिलीटी पुग्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *