काठमाडौं । गायक रामकृष्ण ढकाल अब फिल्मको निर्माता बन्ने भएका छन् । उनले फिल्म ‘मालती मङ्गले’ निर्माण गर्न लागेका हुन् । फिल्मको निर्माण रानी म्यूजिक इन्टरनेशनलबाट हुनेछ । फिल्मको घोषणा गर्दै गायक ढकालले भनेका छन्, ‘समय कति छिटो बित्दो रहेछ । आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ ।
अब फेरि पनि फिल्मसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ । तर, यसपटक भूमिकामा परिवर्तन आएको छ । अब म निर्माताको रूपमा तपाईँहरूसामु आउँदैछु । यो फिल्मले मेरा सपनाहरूको एउटा ठूलो हिस्साको प्रतिनिधित्व गर्छ ।’
फिल्मको निर्देशन प्रकु पाण्डे (प्रकाश)ले गर्नेछन् । कथा पनि उनी स्वयंको हो । कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् । फिल्मका लागि कलाकार छनोट हुन बाँकी रहेको निर्माता ढकालले बताए ।