>

अर्थ मन्त्रालयको प्रवक्तामा श्याम प्रसाद भण्डारी

काठमाडौँ । अर्थ मन्त्रालयको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारी नियुक्त भएका छन्। मन्त्रालयको निर्णयअनुसार भण्डारीले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।

यसअघि प्रवक्ताका रूपमा रहेका महेश भट्टराई भन्सार विभागको महानिर्देशक नियुक्त भएपछि मन्त्रालयले नयाँ प्रवक्ता चयन गरेको हो। भट्टराईले प्रवक्ताका रूपमा विगत ६ महिनासम्म अर्थ मन्त्रालयका नीति, निर्णय, बजेट तथा आर्थिक व्यवस्थापनका सन्दर्भमा सञ्चारकर्मीहरूलाई सूचित गर्ने भूमिका निर्वाह गरेका थिए।

भट्टराईले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई स्मरण गर्दै आफ्नो कार्यकालभरि यथार्थपरक, सन्तुलित, प्रमाणिक र स्पष्ट समाचारका लागि आवश्यक जानकारी उपलब्ध गराउने प्रयास गरेको उल्लेख गरे। उनले सञ्चारकर्मीहरूसँगको निरन्तर संवादबाट आफूले पनि धेरै कुरा सिक्ने अवसर पाएको बताए।

“एउटा गुणस्तरीय समाचारका लागि सत्य तथ्य जानकारी अपरिहार्य हुन्छ। प्रवक्ताका रूपमा रहँदा कानुनी परिधिभित्र रही आवश्यक सूचना प्रदान गर्ने प्रयास गरेँ। सञ्चारकर्मीहरूसँगको संवादबाट मैले पनि धेरै ज्ञान हासिल गरेँ,” भट्टराईले भने।

भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका भट्टराईले सञ्चारकर्मीहरूसँगको सहकार्य आगामी दिनमा पनि रहने अपेक्षा व्यक्त गरेका छन्। अब अर्थ मन्त्रालयका प्रवक्ताका रूपमा सहसचिव श्याम प्रसाद भण्डारीले जिम्मेवारी सम्हाल्नेछन्।

भट्टराईले भण्डारीको व्यवस्थापकीय कार्यकुशलता र समन्वय क्षमताका कारण अर्थ मन्त्रालय र सञ्चारकर्मीबिचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। मन्त्रालयले भण्डारीको नेतृत्वमा सूचना प्रवाहलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *