अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति एउटा निजी विमान दुर्घटनामा परेको छ । विमानमा सवार सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ ।
अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार सो विमान भवनमा ठोक्किएपछि विस्फोट भएको थियो । बिस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन् भने वरपर रहेको घर र गाडीमा आगोलागी भएको छ ।
उक्त विमानमा चालकदलका चार सदस्यसहित एक नाबालक बिरामी र उनकी आमा रहेका थिए । सो विमान उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट प्रस्थान गरेपछि सो दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।
जहाजमा सवार सबै ६ जना मेक्सिकोका नागरिक भएको बताइएको छ । विमान मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थल जाँदै थियो ।
गत बुधबार मात्र अमेरिको वासिङटन डि.सी.स्थित रोनाल्ड रेगन नेशनल विमानस्थल नजिक यात्रुवाहक विमान र सैन्य हेलिकप्टर आपसमा ठोक्किंदा ६७ जनाको ज्यान गएको थियो ।