काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरिएको छ । आपराधिक उपद्रव गरेको कसुरमा दायर मुद्दामा शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्ने व्यक्तिहरूसँग २० रुपैयाँ कर संकलन गर्ने सूर्यविनायक नगरपालिकाको निर्णयविरुद्ध उनले विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसक्रममा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोमा उनीविरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । कर्मचारीबाट खोसेर उनले कर संकलनको रसिद जलाइदिएकी थिइन् ।
त्यसविरुद्ध सूर्यविनायक नगरपालिकाको जाहेरीमा प्रहरी वृत्त जगातीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा चलाइएको मुद्दामा जिल्ला अदालतले धरौटीमा रिहा हुने आदेश गरेको हो ।