काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ राजविराज नगरपालिकाका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएपछि तीन दिनदेखि भईरहेको आन्दोलन साम्य भएको छ ।
आर्थिक अनियमिततासँगै प्रमुख प्रशासकीय अधिकृतको सरुवा लिएर चर्किएको विवाद उग्र भएपछि मंगलबार दिनभरि राजविराज नगरपालिका तनाब ग्रस्त बनेको थियो भने निलम्बित नगर प्रमुख भिमराज यादवका समर्थकहरुले नगरपालिका कार्यालयमा प्रदर्शन गर्दै तोडफोड गरेका थिए ।
सर्वदलीय बैठकको पहलमा मन्त्रालयले साँझ ५ बजे नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हरि किशोर प्रसाद राजवंशीलाई पठाएपछि स्थिति साम्य भएको हो । राजवंशीलाई मन्त्रालयले सर्लाहीको हरिपूर्वा नगरपालिकाबाट सरुवा गरि राजविराज पठाएको हो ।
सहमति अनुसार नगरपालिकामा हालसम्म भएका काम कारवाहीका सन्दर्भमा उठेका अनियमितता, उजुरी र रकम हिनामिनाका विषयमा विज्ञसहितको छानबिन समिति गठन गरिने निर्णय भएको छ । हाजिर भएको स्थायी दरबन्दीका इन्जिनियरलाई नियुक्ति भएको मितिदेखि नै तलब उपलब्ध गराउने सहमति भएको हो ।
यसअघि मन्त्रालयकै सिफारिशमा सरुवा भएका अघिल्लो प्रमुख प्रशासकीय अधिकृत श्रवण साहको ठाउँमा नगरपालिकाकै शिक्षा शाखा संयोजक भोगेन्द्र यादवलाई आर्थिक कारोवारसहित निमित्तको जिम्मेवारी दिएपछि कार्यबाहक नगरप्रमुख इसरत परबिनले मंगलबारै पदस्थापना गरिएको थियो ।
तर, मन्त्रालयले अर्को पत्र मार्फत शिक्षा संयोजक यादवलाई दिएको जिम्मेवारीसमेत रद्द गरिदिएको छ । सहमति भएलगत्तै राति नै निलम्बित नगरप्रमुख यादवद्वारा नगरपालिकामा लगाइएको ताल्चा पनि खोलिएको छ ।