फिदिम । पाँचथरको याङवरक गाउँपालिका–४ को थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको नियमित परीक्षा दिइरहेका एक परीक्षार्थी कारबाहीमा परेका छन् ।
उनले प्रश्न पत्रको गोपनीयता भङ्ग गरेकाले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।आइतबार सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको नियमित परीक्षा सञ्चालनको क्रममा मोबाइलबाट प्रश्न पत्र बाहिर पठाएको पाइएको छ ।
श्रीजंग मावि गोपेटारबाट परीक्षामा सहभागी छात्र निशेक काम्वाङलाई कारवाही गर्न केन्द्राध्यक्षको निवेदन आएसँगै छात्र पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका परीक्षार्थीबाट मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले परीक्षाको मर्यादा र गोपनीयतालाई भङ्ग गर्ने कार्यलाई गम्भीर रूपमा लिइएको जनाउँदै दोषी उपर कानुनबमोजिम कारबाही गरिने जानकारी दिए ।