काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ डुडेठाँटीमा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएका छन् ।
प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मकवानपुरको राक्सिराङका अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङले कँडेलको श्रीमती सुस्मिता सिलवालको हत्याका लागि रकम लिएको स्वीकारेको धादिङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुले पहिले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको तर, सफल नभएपछि उनकै हत्या गरेको खुलेको प्रहरीको दाबी छ । चुडामणिले श्रीमतीको हत्याका लागि प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । जग्गा बिक्री गरेर उनले आफ्नै जग्गामा खेती गरिरहेका प्रजालाई त्यो रकम दिएको प्रहरीको भनाइ छ ।
रकम पाएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गराएको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनाको अनुसन्धानको क्रममा अभियुक्तहरूमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थामा एक लाख रुपैयाँ बरामद गरेको छ । हत्या गर्न प्रयोग गरिएको डोरी र कोदालो पनि बरामद भएको छ ।