काठमाडौं । नेपाल शिक्षक महासंघको आईतबार बसेको आकस्मिक बैठकले आन्दोलनमा घुसपैठ हुँदा झडपको अवस्था आएको निष्कर्ष निकालेको छ । चार साता पुग्दासमेत सरकारले आफ्ना माग सम्बोधनमा बेवास्ता गरेको भन्दै आन्दोलन थप सशक्त बनाउने निर्णय भएको महासंघले जनाएको छ ।
चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरुले आज २७ औं दिन पनि काठमाडौं केन्द्रित प्रदर्शन जारी राख्दैछन । शिक्षक महासंघका प्रतिनिधिसँग शनिबार भएको वार्तामा पेशागत मागका बारेमा सकारात्मक भएको र सहमति भएका विषय मन्त्रिपरिषद्बाट पारित गर्ने प्रतिबद्धता शिक्षामन्त्रीले जनाएका थिए ।
तर, शिक्षकहरुले भने मन्त्रिपरिषद्को निर्णय नआउन्जेल आफूहरु आश्वस्त नभएको उल्लेख गर्दै आन्दोलन जारी राख्ने जनाएका छन् । शिक्षकहरुको आन्दोनलका कारण कक्षा १२ को परीक्षा, भर्ना अभियान र विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।