काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले २०८३ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसको अधिवेशन २०८३ मंसिर मसान्तसम्म भएन भने नेपाली काँग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे । उनले आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताए ।
सांसद कोईरालाले सामाजिक सञ्जालमा २०८३ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गरे ।
कोईरालाले भने, ‘नेपाली कांग्रेसको अधिवेशन २०८३ मंसिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिऔँ हौँ साथीहरु । एकदम सिरियस कुरा छ यो । हामीले आवाज उठाएनौँ भने कसैले आवाज उठाउँदैन । अधिवेशन तपाईंहरुलाई चाहिएको छ । हामी जस्तालाई चाहिएको छ । त्यसकारण तपाईंहरुले आवाज उठाउन जरुरी छ । सामाजिक सञ्जालमा दिनदिनै केही न केही लेखिरहेको म देख्छु । मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८३ को मंसिर मसान्तसम्म हुनुपर्छ भनेर लेख्नुस् त । कति प्रेसर पर्दो रहेछ हेर्नुस् । यस्तो प्रेसर पर्छ की कसैले त्यो प्रेसर खेप्नै सक्दैन । नेपाली कांग्रेसको चलायमान अधिवेशनबाट हुने हो नि त । को आउँछ, को जित्छ, हार्छ भन्नेकुरा आफ्नो ठाउँमा छ ।’
सांसद कोईरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने जिकिर गरे । देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी रहेको बताए ।