रेसुङ्गा (गुल्मी)। कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव हुनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरमा जन्मनुभएका गौतम राष्ट्रसङ्घको उच्च ओहदामा पुग्ने पहिलो नेपाली पनि हुनुहुन्छ । उहाँले कर्मका कारण गाउँ छोडेको बर्सौं भयो । परिवारसँगै अमेरिकामा बस्दै आउनुभएका गौतमलाई पद र प्रतिष्ठाले गाउँ नआए पनि पुग्छ । गाउँ छोडेपछि नफर्केका कैयौँ प्रतिष्ठित व्यक्ति पनि छन् तर अन्तर्राष्ट्रिय छवि बनाउनुभएका गौतमले जन्मभूमि र माटोप्रति निरन्तर काम गर्दै आउनुभएको छ ।
गौतम परिवारले बुवा ओमप्रसाद गौतमको नामबाट शिक्षा र आमा हिमा गौतमको नामबाट गाउँको स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ । बुवाआमाको नामबाट स्थानीय अमरपुरका विद्यार्थीलाई शैक्षिक सामग्री, पुरस्कार, विद्यालयका संरचना निर्माण, दिवा खाजालगायतका कार्यव्रmम गरिरहेको छ भने स्वास्थ्य चौकी निर्माणमा जग्गा प्रदान, आवश्यक स्वास्थ्य सामग्री र उपकरण वितरण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हिमा स्मृति कोषका संस्थापकसमेत रहनुभएका गौतमले बताउनुभयो ।
सहरी क्षेत्रमा अस्पताल र चिकित्सक भए पनि गाउँका पहुँचविहीनलाई सेवा दिन पाएकोमा आफूलाई निकै खुसी लाग्ने भएकाले शिविरलाई निरन्तरता दिएको गौतमले बताउनुभयो । “मैले जीवनमा प्राप्त गरेको सफलताको श्रेय नै जनताको आशिर्वाद हो । मैले उहाँहरूलाई सेवा दिनु पर्छ,” गौतमले भन्नुभयो, “विश्वमा धेरै गरेँ, पछिल्लो समय गाउँमै केही गरिरहेका छौँ ।” चैत २८ र २९ गते पनि बृहत् निःशुल्क स्वास्थ्य शिविर सकिएको छ । शिविरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा. प्रकाश पौडेलसहितले गौतमको गाउँमा आएर बिरामीको स्वास्थ्य परीक्षण गर्नुभयो ।
विशिष्ट व्यक्तिको आग्रहमा गाउँमा आएर सेवा गर्न पाउँदा आफूहरूलाई खुसी लागेको मिर्गौला रोग विशेषज्ञ डा. प्रकाश पौडेलले बताउनुभयो । गाउँमा
जन्मिएर अन्तर्राष्ट्रिय स्तरको छवि बनाउनुभएका गौतम र परिवारको समाजसेवाबाट आफूहरू निकै प्रभावित भएको उहाँले बताउनुभयो ।
मालिका गाउँपालिका–६ की ६८ वर्षीया लोकमनि विष्ट हातखुट्टा दुख्ने र नसाको समस्याका कारण उपचार गर्न लामो समयदेखि पाल्पा, भैरहवासम्म पुग्दै आउनुभएको थियो । अहिले गाउँकै शिविरमा डाक्टर आएकाले जँचाउन पाउनुभयो । टाढा जाँदा यात्राको समस्यासँगै खर्च हुन्थ्यो तर गाउँमै निःशुल्क उपचार पाउँदा आफूसँगै थुप्रै विपन्नलाई राहत भएको लोकमनिका छोरा केयरसिंह विष्टले बताउनुभयो ।
त्यस्तै छत्रदेव गाउँपालिका–५, अर्घाखाँचीबाट शिविरमा आउनुभएकी यशोधा पन्थी पौडेलले महिला रोग विशेषज्ञ भेट्नकै लागि टाढाबाट आएको बताउनुभयो । उहाँले गाउँमै विशेषज्ञ डाक्टरसँग आफ्नो शङ्का मेट्न पाएकोमा निकै खुसी लागेको बताउनुभयो । तत्कालीन समयमा गौतम कामकै व्रmममा अमेरिकामा हुनुहुन्थ्यो । त्यो बेला सञ्चारका लागि घरमा चिठी पठाउने चलन थियो । आमा हिमा गौतम निरक्षर भएकाले छोराले पठाएका पत्र पढ्न सक्नुहुन्थेन, जसका कारण आफूले पढ्न नपाए पनि महिलाले पढ्नुपर्ने रहेछ भन्ने हिमा गौतममा प्रगतिशील सोच आयो । उहाँले गाउँमै पहिलो पटक आफ्नी छोरीलाई विद्यालय पठाउनुभयो । उहाँले गाउँ गाउँमा सबैलाई जागरुक गर्न थाल्नुभयो । त्यो बेला कुमाल र दलित समुदायबाट कसैले पनि छोरीलाई विद्यालय पठाउँदैनथे ।
आमाको आग्रहमा दलित र कुमाल समुदायका छोरीलाई विद्यालयमा आकर्षित गर्न छात्रवृत्ति र दिवा खाजा सुरु गरेको
कुलचन्द्रले बताउनुभयो । यो कार्यव्रmम अमरपुरभरका विद्यालयमा चल्यो । आमाकै सोच र चिन्तनलाई लिएर ‘हिमा गौतम स्मृति कोष’ स्थापना गरेर काम गरिरहेको गौतमले जानकारी दिनुभयो ।
उहाँका बुवा पनि समाज सुधारक हुनुहुन्थ्यो । अर्जे–अमरपुरको विकासमा ठुलो योगदान गर्नुभएका ओमप्रसाद गौतमले गाउँमा २०१८ सालमा अमरपुर मावि स्थापना गर्नुभएको स्थानीय अगुवा हीरा एसीले बताउनुभयो । बुवाको योगदान र प्रयासलाई सार्थक बनाउन कुलचन्द्रकै सव्रिmयतामा विद्यालयकै नाम परिवर्तन गरेर ओमप्रसाद गौतम नामकरण गरिएको एसीले बताउनुभयो । उहाँका अनुसार गाउँमा स्वास्थ्य क्षेत्रसमेत राम्रो बनाउन तत्कालीन
उपस्वास्थ्य चौकी हुँदादेखि नै विभिन्न उपकरण, औषधी, जग्गालगायतका सहयोग गरेको गौतम परिवारले स्वास्थ्य शिविर पनि सञ्चालन गरिरहेको छ ।