काठमाडौं । काठमाडौं महानपालिकाका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष माफी मागेका छन् । आज (शुक्रबार) काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यकक्षमा गएर विहीवारको व्यवहारप्रति माफी मागेका हुन् । गुरागाईलाई कार्यालय प्रवेशमा रोक्न पाण्डेले बल प्रयोग गरेका थिए ।
महानगरका एक अधिकारीले भने–’आज राम्रोसँग कार्यालय सन्चालन भयो । केही गडबडी हुन्छ कि भनेर हामी विभिन्न कार्यक्षेत्रमा भएका कर्मचारी पनि महानगरपालिकाको कार्यालयमा गएका थियौं । गाडीको ह्वील लक पनि खुलेछ । राजु पाण्डेजीले प्रशासकीय प्रमुखलाई सलाम ठोकेरै अघिल्लो दिनको व्यवहार र आफ्नो बाध्यता सुनाउँदै माफी माग्नुभयो । मेयरको मौखिक आदेशले उहाँ यसअघि पनि अप्ठेरोमा पर्नुभएको थियो,सायद महानगर प्रहरीको संचालन प्रशासकीय अधिकृतको खटनपटनमा हुने कुरा भुल्नुभएको थियो होला ।’
उपमेयर सुनिता डंगोलले पाण्डेसँग मेयरको लिखित आदेश मागेपछि उनी रक्षात्मक भइसकेका थिए । महानगर प्रहरी बलको प्रमुख मेयर र उपमेयरप्रति उत्तिकै जवाफदेही हुनुपर्ने डंगोलको भनाइ थियो ।