>

काठमाडौँको वायु प्रदूषण विश्वमै दोस्रो स्थानमा, दिल्ली शीर्षमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अझै खतरनाक तहमा रहेको छ। ताजा तथ्यांकअनुसार अप्रिल ४ तारिख बिहान ९:३२ बजेको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मापनमा काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखिएको छ। भारतको राजधानी दिल्ली पहिलो स्थानमा उक्लिएको छ भने चीनको बेइजिङ तेस्रो स्थानमा छ।

आईक्यूएयरको विश्व एक्यूआई र्‍याङ्किङअनुसार दिल्लीको एक्यूआई ३०९ पुगेको छ भने काठमाडौँको एक्यूआई २५० छ। बेइजिङको एक्यूआई १६१ रहेको छ। यसअघि शुक्रबार काठमाडौँ पहिलो स्थानमा रहेकोमा अब दिल्लीले उछिनेको छ। यद्यपि, काठमाडौँको २५० एक्यूआई अझै पनि ‘अति अस्वस्थ’ को श्रेणीमा पर्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्नेमा ५० सम्मलाई सामान्य मानिन्छ। तर, २०१ देखि ३०० सम्मको एक्यूआई ‘अति अस्वस्थ’ र ३०१ देखि ४०० सम्म ‘खतरनाक’ मानिन्छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विश्वका १५ प्रदूषित सहरको ताजा सूची
ताजा तथ्यांकअनुसार विश्वका १५ प्रदूषित सहरहरूको सूचीमा निम्न सहरहरू समावेश छन्:
दिल्ली, भारत – ३०९
काठमाडौँ, नेपाल – २५०
बेइजिङ, चीन – १६१
हानोई, भियतनाम – १५९
कराँची, पाकिस्तान – १५६
चियाङ माई, थाइल्याण्ड – १५२
ढाका, बंगलादेश – १५१
वुहान, चीन – १३९
दोहा, कतार – १३४
दुबई, संयुक्त अरब इमिरेट्स – १२९
बाटम, इन्डोनेसिया – १२६
हाङझाउ, चीन – १२४
मुम्बई, भारत – १२१
चेङ्दु, चीन – ११७
मनामा, बहराइन – १०७

प्रदूषणको कारण र स्वास्थ्य जोखिम
विज्ञहरूका अनुसार काठमाडौँमा लामो समयदेखि पानी नपर्नु, उपत्यकाको आकाशमा थुप्रिएको धुलो र आसपासका जंगलमा लागेको डढेलोको धुँवाले वायु प्रदूषण उच्च भएको हो। चिकित्सकहरूले बिहान र साँझ घरबाहिर ननिस्कन सुझाव दिएका छन्। विशेषगरी श्वासप्रश्वास र मुटुका बिरामीका लागि यो अवस्था खतरनाक छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

स्वास्थ्य मन्त्रालयले काठमाडौँको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा माथिल्लो स्थानमा रहेको भन्दै सजग रहन आग्रह गरेको छ। ‘काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ मा एक्यूआई ३०० भन्दा माथि पुगेमा विपद्को रूपमा लिने उल्लेख छ।

तापक्रमसँगै बढ्दो जोखिम
मौसमविद्हरूले तापक्रम बढ्दै जाँदा र पानी पर्ने सम्भावना कम हुँदा प्रदूषण अझै चर्किने चेतावनी दिएका छन्। यस्तो अवस्थामा नागरिकले मास्क लगाउने, घरभित्रै बस्ने र स्वास्थ्य सावधानी अपनाउनु जरुरी छ।

वायु प्रदूषणको यो संकटले काठमाडौँवासीलाई तत्काल सावधानी अपनाउन र सरकारलाई प्रभावकारी कदम चाल्न दबाब दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *