काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । राजतन्त्रका पक्षमा आइतबार आयोजित प्रदर्शनमा सडकमा फोहोर गरेको, रेलिङ लगायत संरचना तथा सडक आसपासका विरूवामा क्षति गरेकाले महानगरले एक लाख रुपैयाँ जरिवाना लगाएको हो ।
‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाण्डू महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाण्डू महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १ लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ’, नगर प्रहरीका एसपी लीलाराज गाछा थापामगरद्वारा प्रेषित पत्रमा भनिएको छ ।
काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को निर्देशनमा राप्रपालाई उक्त जरिवाना गरिएको उनका एक सहयोगीले बताए ।