काठमाडौं । संसदको दोस्रो ठूलो दल नेकपा एमाले आम्दानी र बचतको हिसाबमा सबैभन्दा धनी पार्टी बनेको छ । नेकपा एमालेले गत आर्थिक वर्ष (२०८०र८१) मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ ।
उसले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ । यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ । निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको आर्थिक वर्ष २०८०र८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरुको तुलनामा एमाले सबैभन्दा धनी देखिन्छ । एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो ।
एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०र८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ । दलहरुको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) र नेकपा एकीकृत समाजवादी घाटामा देखिन्छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा राजनीतिक दलहरुले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र परीक्षणको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।
सो व्यवस्थाबमोजिम गत माघ महिनाभित्र ८८ राजनीतिक दलहरुले आर्थिक वर्ष ०८०–८१ को लेखा परीक्षण प्रतिवेदन (आम्दानी र खर्चको विवरणसहित) निर्वाचन आयोगमा बुझाएका छन् । जबकी सो आर्थिक वर्षमा ११५ दल आयोगमा दर्ता भएका थिए ।