>

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन गर्न सक्दैनौंः जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा ल्याएको भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले उक्त निर्णय गरेको हो । जसपाका प्रथम उपाध्यक्ष राजकिशोर यादवले भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसकिने बताए ।

जसपाले सरकारले ल्याएका ६ अध्यादेशबारे अध्ययन गर्न प्रथम उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले भूमिसम्बन्धीबाहेक अन्य ५ अध्यादेशमा सहयोग गर्ने गरी प्रतिवेदन बुझाएको थियो । संसदीय दल बैठकले उक्त प्रतिवेदन अनुमोदन गरेको छ ।

सरकारले संसद बोलाउनुअघि विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जसपा उपाध्यक्ष यादवले भूमाफिया र बिचौलियाहरुको स्वार्थमा ल्याइएको भूमिसम्बन्धी अध्यादेशलाई सहर्थन गर्न नसकिने बताए ।

‘भूमाफियाहरुको योजनामा बास्तविक सुकम्बासीलाई भन्दा केही बिचौलियालाई जग्गा बाँड्ने उद्देश्यले ल्याइएको अध्यादेश अस्वीकार गर्ने, त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ’, यादवले भने ।

अन्य ५ वटा अध्यादेशमा आफूहरुका असहमतिका विषय सच्याउन तयार भए सरकारलाई सघाउने निर्णय भएको जानकारी उनले दिए । यद्यपि अध्यादेशबाट मुलुक चलाउने गलत अभ्यासलाई प्रोत्साहन गर्न नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि निरुत्साहित हुनुपर्ने निर्णय जसपाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *