काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बैठक बसेर साझा धारणा तय गरिने जानकारी गराएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । संसद्को हिउँदे अधिवेशन आगामी १८ गते बस्दैछ । सो बैठकअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढंगबाट कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले हिउँदे अधिवेशन आह्वान गरेको दाबी पनि गरे ।
‘हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउँछौँ भनेपछि मात्रै सरकारले सदन बोलाएको छ । हामी पर्सि १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको पनि बैठक बसेर सामूहिक ढंगले कसरी प्रस्तुत हुने ? सरकारले पछिल्लो ६ महिनामा गरेका जनविरोधी क्रियाकलापहरू,’ प्रचण्डले अघि भने, ‘राष्ट्रविरोधी क्रियाकलाहरू, देशमा आर्थिक संकट झन् चर्काउनका लागि अरबौँ अरब ऋण बढाउने जो काम गरेको छ, आफ्ना जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने जो काम गरेको छ, विपक्षी दलहरूलाई पनि सामूहिक रूपमा अगाडि बढाउने कोसिस पनि गरेका छौँ ।’