>

संसदमा प्रतिपक्षको प्रतिरोध गर्न रणनीति बनाउँदै एमाले

काठमाडौं । सरकार नेतृत्वकर्ता एमालेले संघीय संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने रणनीति तयार गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बर्तौलाले संसद् अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने बताए । एक सांसदका अनुसार प्रतिपक्षी दलहरुले संसदमा सरकारका कामकारबाहीको विरोध गर्ने तयारी गरेकाले कसरी प्रतिवाद गर्ने भन्ने रणनीति बैठकले तय गर्नेछ ।

यसअघि सोमबार प्रधानमन्त्रीनिवास बलुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदमा एकरुपतासहित सरकारको बचाउमा उत्रने निर्णय गरेको थियो ।

माओवादी केन्द्रसहित ६ विपक्षी दलले सरकारले संसद् छलेर हालै ल्याएका ६ अध्यादेश, भ्रष्टाचार, सत्तापक्षका भ्रष्टाचार आरोपीलाई सरकारबाट भइरहेको संरक्षण, गहिरिँदो आर्थिक संकटलगायत विषय उठाउने तयारी गरेका छन् ।

संघीय संसदको हिउँदे अधिवेशन आगामी १८ माघबाट सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *