पश्चिम नवलपरासी । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले अहिले मुलुकको मुख्य समस्या बेरोजगारी भएको बताउनुभएको छ ।
आज पश्चिम नवलपरासीको प्रतापपुरमा प्रस्तावित आदर्श क्याम्पसको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे महामन्त्री थापाले जिविकोपार्जन गर्न नसक्दा युवाहरू विदेशिने क्रम बढेको बताउँदै व्यवहारिक शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो ।
रोजगार पाएपनि न्यून आय सहितको रोजगारीका कारण धेरै कमाउने आशामा विदेशिने क्रम बढेकोले हरेक वर्ष ५ लाख युवालाई रोजगार दिन आवश्यक भएको बताउनुभयो ।
बजारमा माग एउटा तर हाम्रो शिक्षा प्रणालीमा अर्कै विषय पठनपाठन भइरहेको बताउँदै उहाँले बजारको माग पूर्ति गर्ने खालको शैक्षिक प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । बेरोजगारीको समस्या समाधान हुने बित्तिकै मुलुक फरक गतिमा अगाडि बढ्ने बताउँदै उहाँले आवश्यक तलबमान सहित रोजगारी दिन सक्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले सरकारले सबैलाई रोजगारी दिन नसक्ने बताउँदै उहाँले सरकार माध्यम बन्नुपर्ने बताउनुभयो । निजी क्षेत्र सँगको सहकार्यमा रोजगारीको सृजना गर्न सरकारले वातावरण सृजना गर्नुपर्नेमा थापाले जोड दिनुभयो ।
प्रतापपुर गाउँपालिकाले प्राविधिक शिक्षाको आवश्यकतालाई परिपूर्ति गर्न प्रतापुरको समेरीमा क्याम्पस निर्माण थालेको गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । १० कोठे पक्की भवन निर्माणका लागी ३ करोड ६५ लाख लागत अनुमान गरी काम सुरु गरिएको छ ।