काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियो अनुसार चेकिङमा खटिएका प्रहरीले ‘माथिको पावर देखाएको’ भन्दै युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै एक युवकलाई कुटपिट गरिएको छ ।
भिडियो सार्वजनिक भएसँगै प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीले सडकमा युवकलाई कुटपिट गरेको भिडियो सार्वजनकि भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको हो ।