पोखरा । प्रधानमन्त्री केपी ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गरे ।
उनले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताए । उनले प्रविधिबाट सतर्क हुनुपर्ने अवस्था रहेको पनि बताए ।
उनले भने, ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन । अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौं । आइटीमा जोड दिनेछौं । अब हाम्रा लागि नयाँ कुरा होइन । च्याट जिपिटी पनि नयाँ कुरा होइन । एआई पनि नयाँ कुरा होइन । हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौं । त्यसका खतरनाक पक्षहरू छन् । ती कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ । त्यसले अह्राएको गर्छ, साँचो र झुटो धेरै छुट्याउँदैन । त्यो कुनै चित्रगुप्त होइन । अह्राएको गर्ने भएकाले गलत अह्रायो भने गलत गर्दछ । त्यो बुझ्न सतर्क हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले विदेश पलायन हुनेभन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताए ।