ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा जेठ महिनाभरि करिब २४ लाख रुपैयाँ भेटी संकलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार पछिल्लो एक महिनामा २३ लाख ९५ हजार रुपैयाँ भेटी संकलन गरिएको हो । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा चढाइएका नगद भेटीहरू समितिको कार्यालयमा नियमित रूपमा गणना गर्दै आएको छ ।
जेठ महिनामा १६ हजार २१० भक्तजनले मन्दिरको दर्शन गरेका थिए । भक्तजनको आगमन अनुसार भेटीको संख्या घटबढ हुने गरेको समितिको भनाइ छ । यसअघि वैशाख महिनामा भने ६० लाख ९० हजार ८०० रुपैयाँ भेटी संकलन गरिएको थियो ।
सो महिनामा स्वदेश तथा विदेशबाट ३८ हजार १७० जना भक्तजनले मन्दिरको दर्शन गरेका थियो । भक्तजनको संख्या हरेक दिन पाथीभरा मन्दिरको माथिल्लो फेदीमा खटाइएका कर्मचारीहरूले अभिलेख राख्ने गरेका छन् ।