ढाका । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले सञ्चार माध्यममा महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरु विद्यमान रहेको बताएकी छन् ।
इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु) ले आइतबार साँझ बंगलादेशस्थित नेपाली राजदुतावाससँगको सहकार्यमा दुतावासको सभाहलमा आयोजना गरेको पत्रकारबीच अन्तरक्रियतात्मक कार्यक्रमको औपचारिक सत्रमा उपसभामुख रानाले आफु एक सामाजिक कार्यकर्ताका रुपमा आफना अनुभव साझा गदै महिला पत्रकारले अझै पनि भोग्न परेका चुनौतिहरु हटाउन संयुक्त प्रयास आवश्य भएको समेत बताएकी हुन् ।
उनले विगतको तुलनामा मिडिया क्षेत्र प्रगतिशिल हुंदै गइरहेको र अझै थप विकासमा पहल गर्नुपर्नेमा जोड दिइन । कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीले महिला पत्रकारले बञ्चित तथा आवाजविहिन समुदायका विशेष कथाहरु उजागर गर्न खेलेको महत्वपुर्ण भुमिकाको प्रसंशा गरे ।
उनले नेपाल र बंगलादेशका महिला पत्रकारलाई एकसाथ ल्याएकोमा आइएमडब्ल्युलाई विशेष धन्यवाद व्यक्त गदै यस्ता कार्यक्रमले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्ल्यु) का अध्यक्ष लक्ष्मी भण्डारीले सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारले गदै आएका प्र्यासका बारेमा जानकारी गराएकी थिइन ।
कार्यक्रममा उनले दुई देशका महिला पत्रकारले दीर्घकालिन मित्रता प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले थप टेवा पुर्याउने आशा व्यक्त गर्नुभयो । बंगलादेश र नेपालका महिला पत्रकारले भोग्दै आइरहेका समस्या र चुनौती समान भएको भन्दै उनले छलफलमा विभिन्न बिषय उठान गरेकी थिइन् ।
कार्यक्रममा दक्षिण एशियाकै सबैभन्दा ठुलो महिला समाजिक संस्था ‘ठेंगमरा महिला सबुज्ज संघ (टिएमएसएस) की संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. हुस्ने आरा बेगमले नेपाल र बंगलादेशका महिला पत्रकारबीच यस किसिमको अन्तरक्रियात्मक छलफल कार्यक्रम पहिलो पटक भएको बताउदै खुसी ब्यक्त गरे । दुई देशबीचको समबन्ध विस्तारमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सहभागिहरुले नेपाल र बंगलादेशका पत्रकार महिलाको साझा मुद्दामा केन्द्रित हुन आवश्यक सञ्जाल बनाउनुपर्नेमा समेत जोड दिइएको थियो ।