काठमाडौं । नेपाली कांग्रेसले गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम गभर्नरमा प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो । यही वैशाख ३ मा भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।
दुई दलीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ । अब एक साताभित्र गभर्नर नियुक्ति हुने कांग्रेस नेताहरुको भनाइ छ । दुई दलबीच सहमति भए पौडेलले पहिला सिफारिस समितिबाट राजीनामा दिनुपर्नेछ । त्यसपछि सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न सक्छ ।
राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने हुन्छ । त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ । बालुवाटार स्रोतका अनुसार यो प्रक्रिया आगामी सोमबारको मन्त्रिपरिषद् बैठकबाट हुने र बिहीबारसम्म नयाँ नियुक्ति हुने बताइएको छ ।