काठमाडौं । कर्मचारी ट्रेड युनियनहरूले आज पनि देशभरका कार्यालयहरूमा कालो पट्टी बाँधेर धर्नालाई निरन्तरता दिएका छन् । आइतवारदेखि दोस्रो चरणको आन्दोलन स्वरूप कालोपट्टि बाँधेर धर्ना दिन शुरु गरेका थिए ।
विधेयकको मस्यौदा संसदमा दर्ता नहुँदासम्म कालो पट्टी बाँधेर विरोध जारी राख्ने र दर्ता भएपछि थप कार्यक्रम तय गर्ने कर्मचारीहरूले बताउँदै आएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित उक्त विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नभएको भन्दै ट्रेड युनियनहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन्।
उनीहरूको मागमा सेवा अवधिका आधारमा एक तह वृद्धिको समयसीमा ७ वर्षबाट घटाएर ५ वर्ष कायम गर्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एक पटक समायोजन छनोटको अवसर दिनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने र तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने लगायतका बुँदा समावेश छन्।