काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताएका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले आफूले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको भन्दै कुनै डाँडामा बसेर लाखौँ कमाउने विषय कल्पना र सपना रहेको र त्यो सम्भव हुने आधार भएको जिकिर गरे ।
महामन्त्री थापाले हरेक व्यक्तिलाई सीप र क्षमता दिएको खण्डमा उक्त सीप र क्षमताले लाखौँ कमाउने सपना पुरा हुने बताए । उनले विश्व अहिले ज्ञान अर्थतन्त्रमा रहेको उल्लेख गर्दै चीनमा जन्मिएका एक व्यक्तिले डिपसिक बनाएर सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको स्मरण गराए । ज्ञान अर्थतन्त्रमा हरेक सम्भावनाको नेटवर्क खुलेको समेत थापाको जिकिर छ ।
ज्ञान अर्थतन्त्रमा लाखौँलाई नयाँ अवसर आउने बताउँदै विपन्न समुदायलाई उक्त अवसरबाट वञ्चित हुन नहुने बताए ।