काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले १२औं महाधिवेशन तीन महिनाभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन् ।
संघले चार वर्षे कार्यकालका लागि नियुक्त भएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले मध्य अवधिमै राजीनामा दिनु सन्देहास्पद भएको भन्दै गम्भीर अनुसन्धानको माग पनि गरेको छ ।
आइतबार त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा सम्पन्न स्ववियु निर्वाचन, हाल शिक्षा ऐन लागू गर्न माग राखी शिक्षक महासंघको प्रदर्शन, स्ववियु निर्वाचनको दौरान उपकुलपतिको राजीनामा र नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनबारेमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो माग गरिएको हो ।
संघका अध्यक्ष शेर्पाले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गरि योग्यता र निष्पक्षतामा आधारित प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने र प्रधानमन्त्री कुलपति हुने संरचनामाथि पुनर्विचार गर्नुपर्ने आफ्नो संगठनको माग रहेको बताए ।
उनले भने, ‘राजनीतिक हस्तक्षेप, प्रशासनिक अराजकता र आन्तरिक दबाबका कारण उपकुलपतिले राजीनामा दिएको भए यो केवल त्रिविमात्र होइन, समग्र उच्च शिक्षाको संकट भएको संघको ठम्याइ छ ।’ अध्यक्ष शेर्पाले तत्काल योग्यता प्रणालीको आधारित उपकुलपति नियुक्ति गर्न, राजनीतिक भागबण्डाको अन्त्य र विश्वविद्यालयको पूर्ण स्वायत्तता गर्नसमेत माग गरे ।