काठमाडौं । सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा १२ बढी देशबाट एक सय ७५ जना विदेशी पाहुना आउने भएका छन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार कार्यक्रममा चीन र भारतबाट उच्चस्तरीय टोली आउनेछन् ।
त्यसरी आउने पाहुनामा संसदका उपाध्यक्ष, मन्त्री तथा सांसदहरू पनि हुनेछन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार चीनबाट नेसनल पिपल्स कंग्रेस (एनपीसी) का उपाध्यक्ष सिआयो जी आउने भएका छन् । उनी चीनका पूर्वस्टेटा काउन्सिलर र पूर्वअर्थमन्त्री पनि हुन् ।
भारतबाट वनमन्त्री भूपेन्द्र यादव आउने भएका छन् । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथिको रूपमा निम्ता गरेको थियो । तर, मोदीले समय नमिलेको भनेपछि भारतबाट वनमन्त्री यादव आउन लागेका हुन् । चीनबाट आउन लागेका एनपीसीका उपाध्यक्ष सिआयो जीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
अजरबैजानबाट कोप २९ का अध्यक्षसमेत रहेका पर्यावरण तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुनेछ ।
बंगलादेशबाट समाज कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयकी सल्लाहकार शर्मिन सोनेया मुर्शिद सगरमाथा संवादमा सहभागी हुनेछिन् । भुटानबाट ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छेरिङको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सगरमाथा संवादमा सहभागी जनाउनेछ ।
यस्तै, माल्दिभ्सका पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम, जापानबाट उप–विदेशमन्त्री इकुइना अकिको, युनाइटेड अरब इमिरेट्सबाट ऊर्जा तथा दिगोपन सहायक विदेशमन्त्री अब्दुल्ला बालाला, बेलायतबाट उप–विदेशमन्त्री ब्यारोनेस सुसान हेमन र कतारबाट विशेषदूत तथा जलवायु परिवतनसम्बन्धी उप–विदेशमन्त्री बहर उमर अल दाफा सगरमाथा संवादमा सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री राणाका अनुसार किर्गिजस्तानबाट पर्वतीय क्षेत्र विकासका लागि पाँच वर्षको कार्ययोजना कार्यान्वयनका लागि राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमेलोभा, ओमानबाट राजदूत इस्सा बिन सालेह अल शिबानी, ब्राजिलबाट कार्लोस अल्बर्टो, इजिप्टबाट राजदूत नोहा हम्दी अहमद एलगेबाली, सार्कका महासचिव मोहम्मद गोलम सरवर, बिमस्टेकका महासचिव इन्द्रामणि पाण्डे, संयुक्त राष्ट्रसंघ (यूएनसीआर नेपाल)को तर्फबाट हाना सिंगर हम्दी, विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रायसर र एसियाली विकास बैंक (एडीबी)का क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिन सगरमाथा संवादमा सहभागी हुनेछन् ।