>

कुम्भमेलाबाट फर्किएका ४ नेपालीको दुर्घटनामा मृत्यु, ६ जना घाइते

सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका ४ जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए ।

सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जितु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।

तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ आज प्रस्थान गरेका वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *