काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको आरोप लगाएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक पौडेललाई लिएर पाइप फुगेर जलमग्न भएको स्थानमा पुगेका मन्त्री यादवले त्यस्तो बताएका हुन् ।
विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा पाइप फुटेको उनको भनाइ छ । उनले मन्त्रालय र केयूकेएलसँग समन्वय नगरी प्राधिकरणले काम गरेका कारण घटना भएको बताए । ‘विद्युत प्राधिकरणले मन्त्रालय र केयूकेएललाई जानकारी नदिई काम गरेको छ’, यादवले भने, ‘यसमा विद्युत प्राधिकरणको गल्ती छ ।’ पाइप ठूलो भएकाले पानी रोकिन समय लागेको मन्त्री यादवले बताए ।
बबरमहलस्थित काठमाण्डू जिल्ला अदालत परिसर बाहिरको मुख्य सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । बाढीका कारण जिल्ला वन कार्यालय, जिल्ला अदालत र विशेष अदालत जलमग्न भएका थिए । केहीबेर सवारी आवागमनसमेत ठप्प भएको थियो ।