काठमाडौं । शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् । केही दिन यता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माईतीघरमा सिठी जुलुस निकालेका हुन् ।
उनीहरुले काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।
यसैविच नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौँ केन्द्रित सडक आन्दोलनमा अनिवार्य सहभागी गराउन भन्दै हडताल घोषणा गरेको हो । अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले आग्रह गरेको छ ।
शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै महासंघले बुधबारदेखि काठमाडौँमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले त्यसलाई अस्वीकार गर्दै आएको छ ।