काठमाडौँ — लाहिरु मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ । मिलान्थाको ८७ रनमा जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पारेको हो ।
जनकपुरले १ सय ८५ रनको लक्ष्य ४ बलअगाडि पूरा गरेको हो । पावर प्लेको ६ ओभरमा ७१ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा १ सय ५ रन जोडेर लक्ष्यतिर लम्किएको थियो ।
मिलान्थाले ३१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । मिलान्था ६५ रनमा भएको समयमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्डको मौका गुमाएका थिए । मिलान्थाले ४९ बल खेली ९ चौका र ४ छक्का प्रहार गरे । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए ।
मिलान्थाले आसिफ शेखसँग ७ ओभरमा ७७ रन जोडेर जनकपुरलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । प्रतियोगितामा खासै जम्न नसकेका आसिफले १९ बल खेली ४ चौका र २ छक्कासहित ३३ रन बनाए । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाई आउट भए । जिम्मी निसम ४ र आकाश त्रिपाठी २ रनमै आउट भए ।